काठमाडौं – आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ९ विकेटले पराजजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । कुशलले अविजित रहँदै ५५ रन बनाए । त्यसैगरी आरिफ शेख २१ रनमा अविजित रहे भने आसिफ शेख १३ रनमा आउट भए । ओमानका जिसन मक्सुदले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । ओमानका लागि जिसन मक्सुदले सर्वाधिक २१ रन बनाए । यस्तै अयान खानले १६ तथा नसिम खुसीले १५ रनको योगदान गरे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिए । यसअघि मङ्गलबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।
युएईलाई उपाधि
युनाईटेड अरब इमिरेट्स (युएई) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको उपाधि जितेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै युएईले उपाधि हात पारेको हो ।
युएई र आयरल्यान्डले भने यस अघि नै सेमिफाइनल खेल जित्दै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाइसकेका थिए । बिहीबारको खेलमा आयरल्यान्डले दिएको १ सय ६० रनको लक्ष्य युएईले १८ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
युएईको जितमा ओपनर मुहम्मद वसिमले १ सय १२ रनको शतकिय इनिङ्स खेले । वसिमले ६६ बलको सामना गर्दा ७ चौका र ८ छक्का हिर्काए । रोहन मुस्तफा ३७ रनमा अविजित रहे । आयरल्यान्डका जोश लिटलले सर्वाधिक २ तथा एन्डी माइकब्रिनले एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुदै १ सय ५९ रन बनाएको थियो । आरल्यान्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ५० रन बनाए । शेन गेटकाटेले ३० रनको योगदान गरे । युएईका लागि जाहुर खान र रोहन मुस्तफाले समान तीन–तीन विकेट हात पारे । जुनैद सिद्धिकी, कसिफ दाउद, कार्थिक मैयप्पन र बसिल हमिदले एक–एक विकेट लिए ।