काठमाडौं– सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी ‘बृहत प्रदर्शनी–२०७८’ शनिबार प्रधान सेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गरेका छन् । ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ भन्ने थिममा आधारित दुई दिने उक्त बृहत प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानलाई समेटेर विगतदेखि वर्तमानसम्म गरेका उल्लेखनीय कार्यहरू समावेश गरिएको छ ।
नेपाली सेनाका ऐतिहासिक हातहतियार तथा उपकरणहरू, पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनालगायत विविध सामग्री तथा फोटोहरू सर्वसाधरणले अवलोकन गर्न पाउने छन् । विशेष गरी युवावर्ग, विद्यार्थी, बालबालिकाहरूले नेपाली सेनालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले यस निःशुल्क बृहत प्रदर्शनीको आयोजना गरिएको हो ।
उपत्यका भित्रका विद्यालयहरूका विद्यार्थीहरू, सर्वसाधरण, पर्यटक तथा अन्य विदेशी नागरिकहरूका लागि समेत खुला गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई सहज होस् भन्ने हेतुले नेपाली सेनाका विभिन्न हातहतियार तथा उपकरणहरू, पोशाकलगायत अन्य सामग्रीहरूको फरक फरक स्टल बनाई उक्त सामग्रीहरूका बारेमा अवलोकनकर्ताहरूलाई जानकारी गराउने व्यवस्था समेत मिलाईएको छ ।
उक्त समुद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, काठमाडौं महानगरपालिकाका उप–प्रमुख, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, इतिहासविद्, नेपाल आर्ट काउन्सिलका प्रतिनिधिहरू, ऐतिहासिक फोटोग्राफर, विभिन्न संचारमाध्यमका रक्षा संवाददाता तथा फोटो पत्रकारहरूको समेत उपस्थिती रहेको थियो ।