काठमाडाै -नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र सङ्घर्षका विषयमा मोम्चो कथा संग्रह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन् ।
शनिबार आयोजित सो सङ्ग्रहमाथिको परिचर्चा कार्यक्रममा कथाभित्रका विषयवस्तुले नेपाली समाजमा भएको तीतो यथार्थतालाई जीवन्त रुपमा उजागर गरेको टिप्पणी समालोचकले गरेका हुन् ।
कार्यक्रममा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी जननी भएको जनाउँदै उनीहरुमाथि हुने हिंसा रोक्न यो कथा सङ्ग्रह सार्थक बनेको बताइन्। उनले भन्नुभयो, “पितृसतात्मक प्रवृत्ति उजागर गर्न मोम्चो कथा सङ्ग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचारजस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो ।”
समालोचक डा एकनारायण पौडेलले कथा सङ्ग्रहभित्र आन्चलिकता प्रवल मात्रामा देखिएको छ बताए । खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको उनले बताए ।
समीक्षक रमेश प्रभातले कथाभित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नुपरेको कथामा समेटिएको उल्लेख गरेका छन् । सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा कथाकार वसन्त पराजुलीले नारी प्रधान विषयवस्तुमा लेखिएको मोम्चोमा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको बताए । साहित्यकार गोविन्दराज विनोदीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एलबी क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यासजस्तो बृहत् नहुने बताए ।
भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ कथा रहेका छन् । कथाकार पराजुलीको मोम्चा दोस्रो कथा सङ्ग्रह हो ।डेढ वर्षअघि मात्रै उनी ‘कुमाता’ कथा सङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पनि रहेका छन् । उनी गोरखापत्र दैनिकका चितवनका संवाददाता पनि रहेका छन् ।