काठमाडाैँ -नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताएका छन् ।
आइतबार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामाथि प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा पारित गर्दा व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्नुपर्ने , नमानेमा सम्झौता अघि नबढ्ने बताएका हुन् ।
‘त्यो (व्याख्यात्मक टिप्पणी) समेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मान्दैन ? नमाने सन्धि अगाडि बढ्दैन’ उनले भने, ‘पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ । उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मा सन्धि अगाडि जाने हो ।’
नेपाली कांग्रेसका महामन्त्री थापाले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गरेका छन् । “एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ”, सांसद थापाले भन्नुभयो । “उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।”
संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरु हिनतावोधले ग्रस्त हुनु नपर्ने पनि थापाले बताए ।अब एमसिसीबारे सडकका जनतालाई विश्वस्त पार्ने दायित्व सबै नेताहरुको भएको उनको भनाइ छ ।
वर्तमान संसद्मा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसिसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उनले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।
एमसिसी सम्झौता अनुमोदन भएपछि नेपालको कानूनभन्दा माथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताएका छन्
छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङ, राप्रपाका राजेन्द्रलिङ्देन लगायतका सांसदले व्याख्यात्मक टिप्पणी सांसदलाई झुक्याउने खेल भन्दै अमेरिकाले त्यसलाई मान्छ भनी प्रश्न गरेका थिए ।