काठमाडौं-प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बहुमतले पारित भएको छ ।आइतबार प्रतिनिधिसभाबाट सैद्धान्तिक छलफल गरी व्याख्यात्मक घोषणासहित बहुमतले एमसिसी पारित भएको हो ।
सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजनका क्रममा हुन्छ भन्ने पक्षमा बहुमत भएको थियो। प्रतिनिधिसभाबाट एमसिसीपारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले एमसिसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो ।विज्ञप्तिमा एमसिसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ।
संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि अमेरिकाले बताएको छ।
‘एमसिसीअनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ दूतावासले भनेको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्नेछ ।’