तनहुँ – जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन ।
उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो ।
यसैबीच पल शाहविरुद्ध नवलपुरको गैंडाकोटमा पनि उजुरी परेको छ । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो ।
प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । त्यसअघि प्रहरीले शाहलाई पक्राउ गर्नका लागि देशभर प्रहरीलाई निर्देशन दिए पनि उनी आफैं तनहुँ प्रहरीमा उपस्थित भएका थिए ।