काठमाडाैँ - महाशिवरात्रिको अवसरमा विशेष ट्राफिककाे योजना तयार पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार परेको महाशिवरात्रिका लागि पशुपतिमा ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो ।
पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ । धेरै टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उनीहरुको सुविधाका लागी निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताएका छन् ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात संचालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाइने समेत एसएसपी जोशीले जानकारी दिएका छन् ।
महाशाखाका अनुसार विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरूका सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासबाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताए । महाशिवरात्रि पर्व अबधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एव प्रभावकारी बनाउनको लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिए ।
पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।