काठमाडाै -पशुपति क्षेत्र विकास कोषले अनलाइनबाट पशुपतिनाथ मन्दिरमा हिन्दुधर्मावलम्बीहरुलाई पूजा गर्ने व्यवस्था गर्ने भएकाे छ । पशुपतिनाथ मन्दिरमा हिन्दुधर्मावलम्बीहरुले अनलाइन एप्लिकेसनबाटै बुकिङ गरी पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले बताएकाे हो ।
कोषका अनुसार विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथप्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको छ । यस अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको कोषले बताएकाे छ ।
एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । केही प्राविधिक कुरा मिलाएपछि छिट्टै पूजा सुरु गर्ने तयारी रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन्।
यस सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।
अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेलमार्फत प्रदान गरिने र विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।