काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका लागि श्रीलंकामा प्रशिक्षण गर्ने भएको छ । नेपाली टोलीले श्रीलंकामा एक साताभन्दा बढी तयारी गर्नेछ । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाका क्लबसँग कम्तीमा पाँच अभ्यास खेल खेल्ने छ । नेपाली टोली मार्च ३ मा श्रीलंका जाने तयारी भएको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १३ मा युएई प्रस्थान गर्नेछ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन् । नेपालले सिरिजमा युएई र पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध खेल्नेछ ।
नेपाल र पिएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पिएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु अन्तर्गत सात टिम सहभागी रहेका छन् । ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ । यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौं स्थानसम्म रहेका छन् । नेपाल भने आठ खेलबाट आठ अंक जोड्दै छैठौं स्थानमा छ । पिएनजीले भने १२ मध्ये कुनै पनि खेलमा जित हात पारेको छैन ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम शर्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल, अनिलकुमार शाह