मध्यरातमा भएपनि ‘व्याख्यात्मक घोषणा’सहित अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँगको सम्झौता (एमसिसी कम्प्याक्ट) पारित हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुसी देखिएका छन् । एमसिसी पारित भएकोमा खुसी देखाउन सोमबार पत्रकार सम्मेलन नै गरेर दाहालले भने, ‘देश दुर्घटनाबाट जोगियो’ । दिनभर बानेश्वर चोकमा आफ्ना भ्रातृसंगठनहरूलाई ढुंगा हान्न लगाएर ‘नो एमसिसी’ भन्न लगाउने दाहालले एमसिसी पारित गर्दा खुसी किन भएँ भन्ने कुरा पत्रकार सम्मेलनमा ओकलेनन् ।
एकातिर कार्यकर्ताहरूलाई एमसिसीको विरोध गर्न लगाउने, अर्कोतिर संसद्मा त्यही कुरा पारित गराएर खुसी व्यक्त गर्ने प्रचण्डको बोलीलाई कसरी बुझ्ने ?एमसिसी मध्यरातमा पारित भएकै कारण मुलुक ‘देश दुर्घटनाबाट जोगियो’ भन्ने कमरेड दाहाल एमसिसी पारित नहुँदा देश कसरी ‘दुर्घटनाबाट हुनबाट जोगियो’ ?एमसिसी पारित नहुँदा मुलुक युक्रेन बन्दै थियो कि प्यालेस्टाइन ? भन्नु पर्दैन ?
पूर्वप्रधानमन्त्री, तपाईंकै भाषामा ‘महान गौरवशाली पार्टी’ हाँक्ने अध्यक्ष जस्तो व्यक्तिले यस्ता हावादारी गफ दिएर जनतालाई उल्लु बनाउन मिल्ला ? तीन दिनअघिसम्म एमसिसी मुर्दावाद भन्दै कलेजका विद्यार्थीहरूलाई बबरमहल–बानेश्वर सडकखण्डमा उतारेको होइन ? त्यसबेला मुलुक कुन संसारमा थियो । छिमेकी भारतले पेल्दै थियो कि चीनले ? कमरेड प्रचण्ड गणतन्त्र स्थापना हुनुअघि तपाईंको नेतृत्वमा जनयुद्ध भइरहँदा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भनेर कोरिएका भित्ते लेखनले अझै पनि गिज्याइरहेको छ भन्ने महसुस हुँदैन ?
पत्रकार सम्मेलन गरेरै ‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोरखाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफूपक्षमा उभिन अलिकति शरम मान्नुपर्ने थियो होला नि कमरेड प्रचण्ड ? सायद ऊ बेला ५० लाख टाउकोको मूल्य तोक्ने तत्कालीन अनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग कुम जोडर सत्ताको रसस्वाद गर्दा आनन्द लागिरहेको होला । २०५२ सालतिर फर्कंदा सायद साम्यवाद र तानाशाहको तानावानाविरुद्ध वर्गसंघर्षको मोर्चामा उभिने उर्फ प्रचण्ड र अहिले टाउकोको मूल्य तोक्नेसँग घाँटी जोडेर हिँड्ने पुष्पकमल दाहालको तन एउटै भएपनि मन फरक भयो कि जस्तो आभाष भइरहेको छैन ।
जनताले चाहेको जनयुद्ध र जनसंघर्षपछिको उपलब्धि अनि अमेरिकी साम्राज्यवादविरुद्धको लडाइँ भनेको एमसिसी सहर्ष स्वीकार थियो ? कि २६ वर्षअघि यहाँले चाल्नुभएको जनयुद्ध पाखण्ड थियो ? त्यसो होइन भने तपाईंका माओवादी कार्यकर्ताहरू सडकमा एमसिसीको विरोध गरिरहँदा तपाईंसमेत संलग्न सरकारले अश्रुग्याँस, लाठी बजार्नुपर्ने कारण के थियो त ? त्यही हो तपाईले भन्नुभएको ‘देश दुर्घटनाबाट जोगियो’ ? होइन भने कमरेड प्रचण्ड,एमसिसीको ५० अर्बले विकासको गति लिन्छ वा मुलुकको आमूल परिवर्तन हुन्छ भन्नु साँच्चै नै तपाईंले भनेजस्तो ‘देश दुर्घटनाबाट जोगियो’ होइन‘अब देश दुर्घटनातर्फ अगाडि बढ्यो’ ।
राष्ट्र, राष्ट्रियतालाई तिलाञ्जली दिएर अमेरिकी साम्राज्यवादको अघि घुँडा टेक्ने पुष्पकमल दाहाल र नेपालमा राजतन्त्र अन्त्य गर्न हिँड्ने प्रचण्डको विचारमा के फरक आयो र ? आफ्नो स्वार्थपूर्ति गर्नका लागि हरियो रुखमा भोट हाल्नसक्ने तपार्इं, करिब दुईतिहाइको ऐतिहासिक कम्युनिस्ट सरकारलाई ‘कमाउनिस्ट’ बनाउने तपाईं, अनि तपाईंकै टाउकाको मूल्य तोक्ने शेरबहादुरसँग अंकमाल गर्ने तपाईंमा फरक के–के छ छुट्याउन आमनागरिक मात्र होइन तपाईंकै जनयुद्धमा होमिएका कार्यकर्ताहरूलाई कठिन भएको छ ।
१० वर्षे जनयुद्ध अनि करिब १५ वर्षको लोकतान्त्रिक गणतन्त्रबाट आमनेपाली जनताले के पाए ? कमरेड प्रचण्डलाई सत्ताको स्वाद निकै मिठो लाग्न थालिसकेकाले होला आफ्नैलाई पनि पराइठान्छन् । बुहारीको रिसले छोरी कुट्ने उखानजस्तै जसरी हुन्छ ओलीलाई सिध्याउनुपर्दछ भन्ने सोच प्रचण्डमा पलाएको हो कि भन्ने आशंका पनि पैदा भइरहेको छ । ओलीले समर्थन गरे त्यसको विपक्षमा अनि ओलीले विरोध गरे त्यसको समर्थनमा प्रचण्ड उभिने हो भने नेपालका कम्युनिस्टहरूले आफूलाई कसरी कम्युनिस्ट भएको स्वीकार गर्न सक्लान् त ?
पुनः कमरेड उर्फ प्रचण्डलाई एउटै प्रश्न । एमसिसी पारित नभएको भए देश कस्तो दुर्घटनामा जाँदै थियो ?तपाईंले चाल्नुभएको कदम अमेरिकाको लिस्टमा आतंककारी बिल्ला हटोस् भन्ने चाहना त होइन ?अमेरिकाले शान्ति सम्झौतापछिका दिनमा तत्कालीन माओवादीनिकट व्यक्ति संलग्न रहेका कुनै पनि गैरसरकारी संस्थालाई सहयोग बन्द गरेको चाल छ ? यदि छैन भने एमसिसीजस्तै अर्बाैंको लगानी भएका विकासे आयोजनाहरू नेपालमा अहिले पनि सञ्चालनमा छन् । हेक्का होस् प्रचण्ड !
एमसिसीको ५० अर्बमा र्याल चुहाएको त्यत्ति सुहाएन । १० वर्षको जनयुद्वको उद्देश्य यही थियो र ? उत्पीडनमा परेका नेपाली जनताको जीविकोपार्जन र जीवनस्तर सुधार्नका लागि एमसिसीले कुनै पनि भूमिका खेल्दैन । ध्यरातमा एमसिसीको पक्षमा वकालत गर्ने प्रचण्ड अहिले अमेरिकाको दास बनेको अनुभूति जनताले गरेका छन् । दासत्व अन्त्य गर्नका लागि वर्गसंघर्षको नेतृत्व गरेको व्यक्ति पानी मरूवाझैँ शेरबहादुर देउवाको पुच्छर बन्न अलि सुहाउँदैनथ्यो कि ?
हुन त तपाईंलाई देश र जनताको चिन्ता पो कहिले थियो र ? जनयुद्धमा होमिएका हजारौं लडाकुहरू अहिले पनि खाडीको मरुभूमिमा पसिना बगाइरहेका छन् । तर, ०५२ देखि ०६३ सम्म परिवर्तनका लागि कुनै पनि योगदान नगरेकाहरू निकै नै सक्रिय माओवादी कार्यकर्ता बनेर मोज गर्न पेरिसडाँडा र खुमलटारमा चहलपहल गरिरहेको देख्नुभएन । सत्तामा पुगेर सरकारी नियुक्ति दिने काम जसरी गर्नुभएको छ त्यही पनि एमसिसीका गन्ध आएन र ? सबैभन्दा महत्वपूर्ण कुरा रामपुर क्याम्पसमा कृषि अध्ययन गरेको प्रचण्डले देशलाई आत्मनिर्भर बनाउनका लागि कुनै पनि भूमिका खेलेनन् ? बरू मुलुकलाई परनिर्भरतातिर धेकेल्दै युवा निर्यातमा पो रमाउन थाल्नुभयो ।
कमरेड प्रचण्ड, मुलुक त्यसबेला दुर्घटनामा पुग्न जुनबेला नेपाली जनताले आफ्नो खेत बाँझो राखेर तपाईंका जनयुद्धमा होमिएका कार्यकर्ताहरूले खाडीबाट पठाएको रेमिट्यान्सको रकमले भारतीय दाल, चामल, मकै किनेर खानुपर्ने अवस्था आउँछ । एमसिसीको ५० अर्बमा ¥याल काड्नुभन्दा उत्पादनमा जोड दिन नेपाली जनतालाई आह्वान गरेको भए । देशमा भएका स्रोत साधन जडीबुटी, उच्च मूल्यका कृषिवस्तु उत्पादनमा जोड दिएर निर्यात गर्ने हो भने नेपालले वार्षिक ५० अर्ब त त्यसै कमाउथ्यो नि, होइन र ?
कति झुठको खेती गर्नुहुन्छ ? कहिलेसम्म देउवाको काँधमा बस्नुहुन्छ ? देउवाको स्वार्थका लागि एमसिसी कांग्रेसले बोेकेर हिँडेको थाहा हुँदाहुँदै पनि राष्ट्रघाती सम्झौता व्याख्यात्मक संशोधन भन्ने पनि हुन्छ र ?एमसिसीलाई हाउगुजी बनाएर अबका दिनमा अमेरिकी सरकारले ऋण होस् वा अनुदान सहयोग वा कुनै परियोजना स्वीकृतिका लागि संसद्मा नै पुग्नुपर्ने नजिर त बन्यो नि होइन र ? मुलुक अरूका कारण होइन तपाईं जस्तै नेतृत्वका कारण दुर्घटनातिर धकेलिएको छ । हिजो हाम्रा पुर्खाले बचाएको गौरव, शान र वीर गोरखालीको पगरीलाई एमसिसीसँगै सती पठाउने गौरवशाली पार्टीका नेता तपाईंलाई लाल अभिवादन ।