काठमाडौं – बाँसबारी क्लबविरुद्ध एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरूआत गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा सरस्वतीले ३–१ अन्तरले जित निकाल्यो ।
पहिलो खेलमै जित निकाल्ने क्रममा सरस्वतीका लागि विक्रम बिसुन्के, सृजन लामा र भुपेन्द्र शाहीले समान एक एक गोल गरे । बाँसवारीका विक्की राईले सान्त्वना गोल फर्काए । खेलको छैटौँ मिनेटमा विक्कीले बाँसवारीलाई अग्रता दिलाए । २१औँ मिनेटमा बिक्रमले गोल गर्दा अघिल्लो सिजन–०७६ मा ए डिभिजनबाट घटुवा भएको सरस्वतीले बराबरी गोल गर्याे ।
८७औँ मिनेटमा शृजन र ९० मिनेटपछिको ईन्जुरी समयमा भुपेन्द्र शाहीको गोलसँगै सरस्वतीले पहिलो खेलमै तीन अंक जोड्न सफल भयो । बुधबारनै भएको पहिलो खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई समान अन्तरले पराजित गर्याे । यस्तै पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरूआत गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सुखद सुरूआत गरेको हो । भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक एक गोल गरे ।
यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए । खेलको २४औँ मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए । खेलको ३८औँ मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१औँ मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए । खेलको ६३औँ मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । यस जितसँगै भगवतीले तीन अंक जोडेको छ । यता झम्सिखेलले भने हारबाट लिगको सुरूआत गरेको छ ।
त्यस्तै अन्तिम खेलमा ब्वाइज युनियन क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरूआत गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा ब्वाइजले विरगंज युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । ब्वाइजलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरे । जितसँगै ब्वाइजले ३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।