नेपालको सेयरबजार यो साता लगातार ओरालो लागिरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७.७३ अंक र दोस्रो दिन सोमबार ४३.१० अंकले घटेको नेप्से परिसूचकमा बुधबार एकै दिन ६३.९८ अंकको गिरावट आएको छ । नेप्से परिसूचक लगातार ओरालो लागेपछि लगानीकर्तामा निराशा छाएको छ ।
सेयरबजार घट्नु या बढ्नु यसको नियम नै हो । लगातार बढिरहने वा घटिरहने हु“दैन । निश्चित बिन्दुमा पुगेर पुनः तल माथि हुने गर्छ । त्यसैले सेयरबजारमा घटबढ हुनुलाई स्वाभाविक मान्नुपर्छ । तर, ठूला लगानीकर्ताहरूको चलखेलले सेयरबजारमा अस्वाभाविक घटबढ हुनेतर्फ सचेत हुन जरूरी छ । भनिन्छ, नेपालको सेयरबजार निश्चित लगानीकर्ताहरूको नियन्त्रणमा छ । बेलाबेलामा हुने अस्वाभाविक परिवर्तनले त्यसको संकेत गर्छ । त्यसैले यस्ता चलखेल र अस्वाभाविक परिवर्तनप्रति साना लगानीकर्ता सचेत बन्नुपर्छ ।
सामान्य अवस्थामा बजार घट्नुलाई लगानीको अवसरका रूपमा लिने गरिन्छ । बजार घटेको समयमा राम्रा कम्पनीहरूको सेयर किन्न विज्ञहरूले प्रोत्साहित गर्ने गरेका छन् । तर, लगानीकर्ताले जोखिमप्रति सधैँ सचेत रहनै पर्छ । ‘जुवाघर’को रूपमासमेत लिइने सेयर बजारमा स–साना हल्ला र सामान्य नीतिगत परिवर्तनले पनि ठूलो प्रभाव पार्ने गर्छ ।
त्यसो त नेपालको सेयरबजारमा ‘इनसाइडर ट्रेडिङ’समेत हुने गरेको तथ्य बाहिर आइसकेको छ । नियामक निकायका अधिकारीहरू नै यसमा संलग्न हुने गरेको पछिल्लो उदाहरण ताजै छ । धितोपत्र बोर्ड र नेपाल एक्सचेञ्ज दुवैका प्रमुख नियमविपरीत भित्री कारोबारमा संलग्न भएको पुष्टि भएपछि सरकारले निलम्बित गरेको थियो । केही समयअघि मात्रै दुवै निकायले नया“ प्रमुख पाएका छन् ।
सेयरबजारमा हुने अस्वाभाविक चलखेलले सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पर्ने गरेको छ । त्यसैले यसतर्फ धितोपत्र बोर्ड र नेप्सेका नया“ नेतृत्वले ध्यान दिनैपर्छ । पछिल्लो समय सेयरबजार घट्नुमा बैंकिङ क्षेत्रमा जारी तरलताको समस्या, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् गरिएको कडाइ लगायतलाई मुख्य कारणको रूपमा लिइएको छ । सेयरबजारका जानकारहरू बजार ओरालो लागे पनि अत्तालिहाल्नुपर्ने कारण नरहेको बताँछन् । त्यसैले अहिले लगानीकर्ताले धैर्यता अपनाउनु नै उचित देखिन्छ । किनभने, सेयरबजारमा धैर्यता अपनाउँदै विवेक प्रयोग गर्न आवश्यक छ ।
यसैबीच, बुधबार धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखहरूलाई बधाई दिन आयोजित समारोहमा अर्थमन्त्री जनाद्र्धन शर्माले पुँजीबजार सुधारका लागि ११ बुँदे निर्देशन दिएका छन् । उनले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए । उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने वातावरण सिर्जना गर्न, पुँजीबजारको समस्या समाधान गरी सर्वसाधारणको लगानीको सुरक्षा गर्नसमेत अर्थमन्त्रीले निर्देशन दिए । नवनियुक्त प्रमुखद्वयले पनि पुँजीबजार सुधारमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूको यो प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयनमा आउला भन्ने हेर्न बा“की नै छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १०:५१