विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिद्धान्त र विचार नमिल्ने कम्युनिस्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने स्पष्ट पारेका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभामा उनले सो कुरा बताएका हुन् ।
उनले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने पार्टी भएकोले सिद्धान्त र विचार नमिल्नेसँग तालमेल नगर्ने बताए । उनले भने, ‘सिद्धान्त र विचार नमिल्ने कम्युनिस्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा जादैँन ।’
उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान भएको बताए । उनले पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउँदै भने जोड दिनुभयो । ‘नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन ।’ उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने बताएका छन् । उनले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने बताए । उनले देशमा भ्रष्टाचार व्याप्त भएको भन्दै लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने बताए । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसिसी देश र जनताकै हित भएको बताएका छन् । उनले एमसिसीको कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पारे ।
उनले कांग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको बताए । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए ।