भक्तपुर- सूर्यविनायकबाट साढे चार किलोमिटरपर सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा जिन्दगीका अनेक रूपरंग समेट्दै.. गीतकाे भिडियो छायांकन सकिएकाे छ। भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा लिदैँ 'जिन्दगीका अनेक रूपरंग समेट्दै...' गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरि भिडियो छायांकन सकिएकाे हाे ।
चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँने मैदानमा साे गीतकाे बुधबार छायांकन सकाएकाे छ । त्यहाँ देखिने सुन्दर हिमशृंखलाले जोकोहीलाई आकर्षित गराउने हुदाँ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन गरिएकाे बताएका छन्।
कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायले गीतको भिडियो पनि कीर्तिमानका लागि गरिएकाे बताएका छन् । गीतको भिडियो छायांकनका त्रःममा ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द धेरै पटक दाराइएकाे थियाे । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका धेरै छायांकन देखिएको तर यस्तो चाहिँ पहिलोपल्ट देख्दै छौँ,’ स्थानीय पर्यटन व्यवसायी रामजी अवालले बताए ।
यस गीतको भिडियोको कौतुहलताको कारण थियो हरेक दुई-तीन सेकेन्डमा ड्रेस परिवर्तन । पूरा गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन गरिएको निर्देशक माइकल चन्दले बताएका छन् ।
‘धेरै गीतको भिडियो छायांकन गरियो तर यो पृथक् शैलीको गीतको भिडियो छायांकन गर्दै छौँ, यसको विशेष महत्व आफ्नो ठाउँमा छँदैछ तर चुनौती पनि त्यत्तिकै रहेको छ,’ छायांकर उत्सव दाहालले बताए । डा. उपाध्यायले छिन-छिनमा लुगा परिवर्तन गरेको दृश्य अनौठो र फरक शैलीको रहेको थियो ।
‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीतमा १५० ड्रेस परिवर्तन भएको विश्वमा छैन, हामीले त्योभन्दा बढी गरेका छौँ,’ डा उपाध्यायले बताए ।
छायांकनमा सुनिता खनाल, मेकअप आर्टिस्ट अनिता ग्वाच्छा, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो भने भिडियोमा डा. उपाध्यायसँग कलाकार प्रतिमा विष्ट रहेका छन् ।
यस गीतमा स्वर तथा संगीत सागर अधिकारीको रहेको छ भने गीतको भिडियो केही समयपछि डिआर म्युजिक क्रियसनमार्फत् सार्वजनिक गरिने बताइएको छ ।