झापा – संकटा क्लब काठमाडौं पाँचौं संस्करणको झापा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोफोना फोडेको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाऊ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रामक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो ।
खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोष्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए । ५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आङ्खनै खुटामा ठोकिएर पोष्ट नजिकैबाट बाहिरियो ।
यस्तै, १६ औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।
आइतबारको खेलको म्याद अफ द म्याच विजेता टिम संकटाका फोफोना फोडे घोषित भए । उनले नगद ९ हजार ९९९ रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताअन्तर्गत सोमबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।