काठमाडौं– श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ । बलरहरु चम्केको खेलमा नेपाली टोलीले स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य सहित जबाफि ब्याटिङ्ग गरेको घरेलु टोली नेभी २८.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । नेभीका लागि मधुशंकाले ६८ बलमा सर्वाधिक ३९ रन बनाए । अन्य कुनैपनि खेलाडी चल्न सकेनन् । घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र मल्लले र विक्रम सोबले २–२ विकेट लिए । त्यस्तै करण केसीले, कमलसिंह ऐरी र सागर ढकालले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका दीपेन्द्र सिंह ऐरीले समाल्लेका थिए । उनले टोलीका लागि सर्वाधिक ४३ रन बनाए । युवा ओपनर आसिफ शेख ३६, कुशल भुर्तेल १३, ज्ञानेन्द्र मल्ल २ रनमा पेवेलियन फर्किए पछि नेपाली टोली संकटमा देखिएको थियो । तर तल्लो क्रमका खेलाडीको प्रदर्शनमा नेपालले सम्मानजनक योगफल खडा गर्न सफल भयो । नेपालका लागि विकेट किपर विनोद भण्डारीले २२ रनको योगदान दिए । त्यस्तै रोहित कुमार पौडेल १३ कमलसिंह ऐरी १५, करण केसी १६ र सन्दीप लामिछाने ११ रनमा आउट भए । श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ए अवदतले पनि ३ विकेट लिए ।
नेपाली टोली अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीको लागि चार अभ्यास खेलका लागि श्रीलंकामा रहेको छ । नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँगनै खेल्ने छ । तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ । कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन् ।