काठमाडाै - बौद्ध दर्शनको सम्यकता बुझ्न खोज्नेलाई एक महिने तालिम सञ्चालन भएकाे छ । बौद्ध दर्शन तथा गुम्बा विकास समितिद्वारा काठमाडौँमा मूर्ति बनाउने तालिम दिइरहेका कार्यकारी निर्देशक होम दोङले बताएका छन् ।
फागुन १० गतेबाट सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुने समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । तालिमले सीप विकास गर्ने उनकाे भनाइ छ ।
देशभरका विभिन्न जिल्लाबाट यस विषयमा चासो लिएर बौद्ध दर्शनको सम्यकता बुझ्न खोज्नेलाई यो तालिम दिइएको जानकारी गराउँदै दोङले भने, ‘तालिमपश्चात् सक्षम भएर प्रशिक्षार्थीहरूको जीविकोपार्जनमा समेत सहज हुनेछ ।’ उनले तालिमले सीप विकासमा सहयोग पुग्ने बताएका छन् ।
तालिममा सङ्खुवासभा चैनपुरका ज्ञानबहादुर तामाङ, सर्लाहीका तेर्साङ लामा, भोजपुर षडानन्द नगरपालिकाका सुरज तामाङ, चन्द्रनिगाहपुर रौतहटका विशाल सिङ्तान, सर्लाहीका साङदोर्जे लामा, गोरखाका विश्वम्भर बस्नेत, रामेछापका ङावाङटासी शेर्पा, हरिवन सर्लाहीका मिक्मर थिङ, तनहुँ बन्दिपुरका सन्दीप श्रेष्ठ, रसुवाका लाक्पा तामाङ लगायतले तालिम लिइरहेका छन् ।
तालिमका सहभागी ज्ञानबहादुर तामाङ भन्छन्,‘यो मेरो लागि अवसर हो। यसले मेरो जीवनमा एउटा कला थपिदिएको छ ।’ उनले यो तालिममा सहभागीका लागि अवसर दिने गुम्बा विकास समितिलाई धन्यवादसमेत दिएका छन् ।
त्यस्तै करिब २० वर्ष जति थाङ्का लेखन कार्य गरिरहेका सर्लाहीका तेर्साङ लामा पनि समितिले अवसर प्रदान गरेकोमा हर्षित थिए । उनले भने,‘मूर्ति बनाउने सीप सिक्ने अवसर पाए । यसले मलाई थप सीप विकास भएको छ ।’ सीप भएपछि जहिले र जहाँ पनि काम लाग्ने उनको भनाइ थियो ।
तालिममा बुद्धको मूर्ति लगायतका अन्य मूर्तिहरू बनाउन सिकाइने प्रशिक्षक भीम श्रेष्ठले बताएका छन्। यसबाट उनीहरूले सबै मूर्तिहरू बनाउन सकिन्छ, उनले थपे । यस्तै तालिमका संयोजक लक्ष्मी रुम्बाका अनुसार माटोको मूर्तिबाट सबै किसिमका कला झल्किने मूर्तिहरू बनाउन सकिने हुँदा यो तालिमबाट उनीहरू पोख्त हुने बताइन् ।