पछिल्लो समय उपत्यकाका अधिकांश घरबाहिर ‘कोठा खाली’ भन्ने सूचना टाँसेको देखिन्छ । कोठा, फ्ल्याट र सटर भाडामा लिन खोज्नेले सम्पर्क गर्नुस् भनेर सम्पर्क नम्बर पनि दिइएको हुन्छ । पाइलैपिच्छे यस्ता कोठा खाली भनेर लेखिएका ब्यानरहरू भेटिन्छन् । यता, दैनिक सयौं मानिसहरू कोठा खोज्न हिँडिरहेका भेटिन्छन् । सूचना देखेपछि कोठा चाहिनेले सम्पर्क गर्छन् तर घरधनीले मागेजति रकम तिरे पनि कोठा बहालमा पाइँदैन ।
बरू घरधनीहरू कोठा खाली नै राख्न रूचाउँछन् । दुई–तीन महिना खाली राख्छन् घरधनी तर चाहिएकोलाई मिलाएर दिन चाहँदैनन् ।कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण कुनै निकायले गरिदिने व्यवस्था छैन । घरधनीले आफूखुसी भाडा निर्धारण गर्छन् । यसले गर्दा आमनागरिकले समस्या भोग्नुपरिरहेको छ । घरधनीलाई जति मनलाग्यो त्यति भाडा लिइरहेका छन् । आमनागरिकलाई जसरी पनि कोठा बहालमा बस्नुपर्ने बाध्यता छ ।
सरकारले कुन घर आवासका लागि, कुन व्यापार÷व्यवसायका लागि, कुन घर कार्यालय सञ्चालनका लागि भनेर वर्गीकरण गरेको छैन । अन्य मुलुकमा आवास, व्यावसायिक तथा कार्यालयका लागि सरकारले नै क्षेत्र तोकिदिएको हुन्छ । नेपालको त्यो काम सरकारले गर्न सकेको छैन । जनसंख्याको ठूलो हिस्सा कोठा बहालमा लिएर बस्छन् । घर तथा सटर भाडामा लिएर व्यापार गर्ने, कार्यालय सञ्चालन गर्ने पनि उत्तिकै छन् ।
ठाउँ हेरेर एउटा कोठाको मासिक भाडा पाँचदेखि १० हजार तिर्नुपर्छ । बढी व्यापार हुने ठाउँमा एउटै सटरको नौ लाख रूपैयाँसम्म लिन्छन् घरधनी । सामान्य ठाउँमा १० हजार रूपैयाँसम्म सटरबहाल तिर्नुपर्छ । २० हजार रूपैयाँबाट सुरू हुने फ्ल्याटको भाडा डेढ लाखभन्दा बढीसम्म पर्छ । आफूले तिरेको भाडा महँगो हो कि सस्तो, तिर्ने व्यक्तिलाई अत्तोपत्तो छैन । सरकारले यस विषयमा चासो दिएकै छैन ।
एउटा घरधनीले आफ्नो घर भाडामा लगाएर ५० हजारदेखि ६ करोड रूपैयाँसम्म कमाउँछन् । तर, उनीहरूले राज्यलाई घरबहाल कर तिर्दैनन् । सरकारले घरभाडाको कर तिर्नुपर्ने नियम लागू गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । यसबाट राज्यलाई अर्बौंको नोक्सानी भइरहेको छ । राज्य र जनता दुवै मारमा परिरहँदा घरधनीलाई भने फाइदा भइरहेका छ । घर बनाउनेबित्तिकै बहालमा लगाउन पाइने, आफूले भनेजति भाडा उठाउने तर बहाल कर नतिर्ने प्रवृत्ति नियन्त्रणमा आउन सकेको छैन ।
वित्तीय संस्थाले घरजग्गालाई कर्जा दिने भएपछि घर बनाउनेको संख्या ह्वात्तै बढेको छ । तर, त्यही वित्तीय संस्थाले उद्योग खोल्छु, मुलुकमै स्वरोजगार बन्छु भन्नेलाई कर्जा दिँदैनन् । घरजग्गामा नाफा हुने भएपछि वित्तीय संस्थाको मोह यसतर्फ गएको हो । यस्तो प्रवृत्तिले खेतीयोग्य जमिन सबै सिद्धियो । खुला ठाउँ कहीँ कतै बाँकी छैन । खानेकुरा सबै बाहिरबाट आयात गर्नुपर्छ । घर बनाउन चाहिने सामान पनि अरू मुलुकबाट आउँछ । जसको कारण नेपाल आत्मनिर्भर हुन सकेन । यता, मुलुकको अर्थतन्त्र पनि धराशायी बनेको छ ।
विदेशमा युद्ध हुँदा यसको असर नेपाली बजारमा देखिन्छ । रुस र युक्रेनबीचको युद्ध पछिल्लो उदाहरण बनेको छ । युक्रेनमा युद्ध सुरू भएसँगै पेट्रोलियम पदार्थदेखि खाने तेल अन्न, गेडागुडीलगायत दैनिक उपभोग्य वस्तु छोइनसक्नु भएको छ । युद्ध त रुस र युक्रेनबीच भएको हो तर खाद्यान्नको भाउ नेपालमा बढिरहेको छ । यो सबै बढ्दो सहरीकरणको नतिजा हो ।
नेपालको सहरीकणले नेपालीलाई भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ । बजार महँगीले आर्थिक अवस्था कमजोर भएकालाई सबैभन्दा धेरै मारमा पारेको छ । महँगी बढ्यो भन्दै घरधनीले भाडा बढाउँछ । यातायात व्यवसायीले यातायातको भाडा बढाउँछ । सबै कुराको भाउ बढ्छ तर आम्दानी बढ्दैन । अनि आर्थिक अवस्था कमजोर भएका, बिहान कमाएर बेलुका छाक टार्ने, साधारण पेसा व्यवसाय गर्ने, कुनै निजी कम्पनीमा काम गर्नेले कसरी खर्च धान्ने ?
फेरि, घरबेटीकै कुरा । मान्छे आएर कोठा बहालमा बस्न पाएको हुँदैन तीन महिनाको अग्रिम बहाल माग्छन् घरधनी । तीन महिनाको दिन सकिएन भने एक महिनाको भए पनि दिनैपर्छ । घरधनीले बहालमा बस्नेसँगै महिनैपिच्छे बहाल लिन्छन् बिल दिँदैनन् । महिनैपिच्छे भाडा तिरे पनि झुक्याएर बहालमा बस्नेहरू दोब्बर पैसा लिन खोज्छन् । बिल नदिँदा भाडामा बस्नेहरू ठगिएका छन् । बत्ती, पानी र फोहोरको पैसा जति मनलाग्यो त्यति असुल्छन् । पानी नदिने तर पानीको पैसाचाहिँ लिने । सवारीसाधन पार्किङ गरेको रकम उठाउँछन् ।
बहालमा बस्नेहरूलाई छतमा जानसमेत दिँदैनन्, छतमा लगेर सुकाउन दिँदैनन् । लुगा धोएर कोठैभित्र सुकाउनुपर्ने, भाडा पनि कोठैभित्र धुनुपर्ने । भाडा धोएको पानी शौचालयमा लगेर फ्याँक्नुपर्ने । नुहाउनलाई पानी नदिने, बाथरुमको सुविधा पनि नहुने । घरधनीलाई पानीको पैसा त तिरिएको छ तर शौचालय जान पनि किनेको पानी प्रयोग गर्नुपर्ने । बहालमा बसेको एक वर्षमै कोठाभाडा बढाइन्छ । बढाएको भाडा तिर्दिन भन्यो भने निस्किएर जा भनिहाल्छन् । नयाँ मान्छे ल्याउने महँगो भाडामा लगाउने । कोठा छोडेर जाँदा रङ लगाइदिनुपर्ने, ढोकाको चुकुल र धाराको टुटीको पनि पैसा तिर्नुपर्ने ।
वडा वा नगरपालिकाबाट आएका सरकारी कर्मचारीहरूलाई बहालवालाले सही उत्तर दियो भने पनि कोठाबाट निकालिदिन्छन् । १० हजारमा कोठा बहालमा लगाउँछन्, राज्यलाई तिर्छन् पाँच सयको कर । नौ हजार पाँच सयको कर छल्छन् । हरेक घरधनीले वडालाई मासिक १० प्रतिशतको दरले कर तिर्नुपर्छ । कोठा सबै बहालमा लगाएको हुन्छ । तर, अनुगमनमा आएकालाई उल्लु बनाउन सबै आफन्त बसेको देखाउँछन् । दुई तलाको नक्सा पास गरेको खण्डमा पाँच तलाको घर ठडिन्छ । बाटो पनि मिचेको हुन्छ । खुला ठाउँ छोडिएको हुँदैन ।
एउटा खाट नअट्ने अँध्यारो र चिसो कोठामा महँगो भाडा तिर्नुपरेको छ । त्यस्तो चिसो कोठामा बस्दा बुढाबूढीलाई बाथ हुन्छ भने बालबालिकालाई निमोनिया । हावा छिर्ने ठाउँ कहीँकतै हुँदैन । घरधनीहरूले महिना मर्नुअघि नै बहाल माग्छन् । कोठाबहालमा बस्नेले दुई महिनाको बहाल तिर्न सकेन भने कोठाको सामान जफत गर्छन् । बहालमा बस्नेहरू खाली हात निस्किनुपर्छ । बच्चा हुनेलाई हत्तपत्त कोठा दिन मान्दैनन् । बहालमा बस्नेको बच्चाले होहल्ला ग¥यो भने विभिन्न बहाना बनाएर कोठा सरेर जान भन्छन् ।
विद्यार्थी, बुढाबूढी, अपांग, दीर्घकालीन रोगी, एकल महिला र आर्थिक कमजोर भएकालाई कोठा दिँदैनन् । कि व्यापारी, कि सरकारी जागिरेले मात्र कोठा पाउँछन् । नक्सा पास गर्ने बेलामा सरकारले खोजी गर्दैन । भाडामा लगाउने कि नलगाउने, यसको सम्झौता नक्सा पास गर्ने बेलैमा गरिनुपर्छ । सरकारले हचुवाको भरमा नक्सा पास गरिदिने गरेको छ । घरधनीहरूले पनि आफ्नो निजी सम्पत्ति भनेर रूपरंग देखाइहाले । निजी भनेर छाडा छोडिदिँदा राज्य र जनता दुवै ठगिए । हाम्रो निजी सम्पत्ति हो, हामी किन कर तिर्ने भन्ने उनीहरूको मनमा परेको छ । यस्तो हुनुमा राज्य पनि दोषी देखिन्छ ।
बहालमा बस्नेहरू कोठामा मर्न पनि पाउँदैनन् । उसलाई गाह्रो भयो भने कि त बाटैमा मर्नुपर्छ कि अस्पतालमा । घरधनीमा मानवताको कुनै भावना छैन । घरजग्गाबाट राज्यले वास्तविक राजस्व गुमाइरहेको छ । यी घरहरू पनि घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने बेला आएको छ । सरकारले यो निर्णय गर्दा राज्यले राजस्व पाउँछ । घरेलु र कम्पनीमा गएर पञ्जीकरण नगरेका घरहरूको सम्पन्नताको प्रमाणपत्र दिन रोक लगाउने हो कि † यसो गर्दा पछिल्लो समय मौलाएको विकृतिको पनि अन्त्य हुन्छ । राज्य र जनता ठग्ने कामको पनि अन्त्य हुन्छ । बहालमा बस्नेले सस्तोमा कोठा पाउँछन् ।