बनेपा - काभ्रेपलाञ्चोकको ५३ घरलाई एक घर, एक धारा नाराका साथ सरकारले वितरण गरेकाे छ ।
काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट ५३ घर परिवार र एक विद्यालयलाई धारा वितरण गरेको हाे ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् ।
वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताएका छन् ।
विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उनले बताए । करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्याङ्की निर्माण गरी घर–घरमा खानेपानी पु¥याइएको गाउँपालिकाका सव–इन्जिनियर प्रकाश खड्काले बताएका छन्।
सो आयोजना सम्पन्न गर्नका लागि रु ४६ लाख ५० हजार ५०० को लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको बताइएकाे छ ।