काठमाडौं- श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई ३ सय ३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन जोड्यो ।
श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पुरा गरेका छन् । अर्धशतक पुरा गर्नेमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल र करण केसी रहेका छन् । रोहितले नेपालका लागि सर्वाधिक ७२ रनको योगदान गरे ।
कुशलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । करणले अविजित ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए । कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे । आरिफ शेखले ३५, बिनोद भण्डारीले ३, पवर सर्राफले ३ र भिम सार्कीले २ रन बनाए ।
यसअघिको श्रीलंका नेभीविरुद्धको दुइ अभ्यास खेलमा नेपालले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेको थिएन । दुवै खेलमा जित हात पर्दा नेपालको बलिङले सम्भब भएको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । नेपालले आजको खेलमा लयमा रहेका दिपेन्द्र सिंह ऐरीलाई विश्राम दिएको छ । यस्तै विवेक यादब, ज्ञानन्द्र मल्ल र बिक्रम शोबलाई समेत बेञ्चमा राखेको छ ।