धनगढी— फ्रेन्ड्स क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक एक गोल गरे । बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए । खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरेपनि बागमती २–१ ले पराजित भयो । अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल लागि विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० रूपैयाँको टिकट राखिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।