
काठमाडौं– प्रभाव राष्ट्रिय दैनिकको सम्पादकमा विष्णु तामाङ नियुक्त भएका छन् । प्रभाव पब्लिकेसनको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सम्पादक रहेका कमल राईको हृदयघातका कारण मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो ।
नवनियुक्त सम्पादक तामाङले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । उनले आमसञ्चार तथा पत्रकारिता विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । ऐसेलुखर्क–२ खोटाङका स्थायीबासिन्दा उनी विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । यसअघि पनि प्रभाव दैनिकमा काम गरिसकेका उनले नागरिक दैनिकमा करिब तीन वर्ष राजनीतिक र आर्थिक ब्युरोमा रहेर काम गरेका थिए । नेपालन्युज र देखापढी डटकममासमेत काम गरेका उनी पछिल्लो समय नेपाल लाइभ डटकममा कार्यरत थिए । उनको आर्थिक पत्रकारितामा विशेष दख्खल रहेको छ ।
नवनियुक्त सम्पादक तामाङलाई स्वागत गर्दै प्रभाव पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कृष्ण कार्कीले कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । अनुभवी तथा प्रतिभावान व्यक्तिलाई सम्पादकको जिम्मेवारी दिन पाएकोमा खुसी व्यक्त गर्दै उनले सम्पादक तामाङको नेतृत्वमा प्रभाव दैनिकले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले प्रभाव दैनिकले चाँडै नेपाली पत्रकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाउने दाबीसमेत गरे । नवनियुक्त सम्पादक तामाङले प्रभाव दैनिकलाई पाठकको रोजाइको पत्रिका बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । आफूले चुनौतीलाई स्वीकार गरी सम्पादकको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले व्यावसायिक पत्रकारिताको मूल मर्मलाई आत्मसात् गरेर पत्रिकालाई अगाडि बढाउने बताए ।