[caption id="attachment_22358" align="alignleft" width="300"]
डाेल्मा शेर्पा[/caption]
विविधताले भरिएको नेपाली समाजमा आदिवासी जनजातिहरूको छुट्टै पहिचान छ ।
आदिवासी जनजातिहरूमा पनि विविधता रहेको पाइन्छ । यस्तो विविधता हिमाली आदिवासी जनजातिमा पनि कायम रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमीका अनुसार हिमाली क्षेत्रमा करिब १८ वटा जाति रहेका छन् ।
अरूले हेर्दा एकै किसिमको लागे पनि आफूहरू फरक भएको उनको भनाइ छ । ‘तराईतिरका धिमाल, मेच, राजवंंशी, किसान, उरावलगयतका समुदायलाई एकै हो भन्ने धारणा रहेजस्तै हामी हिमालमा बस्ने बख्खु लगाउनेहरू एकै ठान्छन् ।
तर हामी एकै होइनौँ । हाम्रो परिचय र पहिचान फरक छ,’ महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमी भन्छिन् ।हिमाली आदिवासीहरूमा सबैभन्दा धेरै जनसंख्या भएको जाति शेर्पा हो । हिमाली क्षेत्रका आदिवासीहरूमा शेर्पालगायत नेपाल सरकारले सूचीकरण गरेका १८ आदिवासी जनजाति रहेका छन् ।
पश्चिमी हिमाली क्षेत्रमा बसोबास गर्ने व्याँसी, होस वा डोल्पो, पूर्वी क्षेत्रका तोप्केगोला होस् वा वालुङ सबैको फरक भूभाग, फरक थातथलो रहेको छ ।
यसरी नै बाह्रगाउँले, भोटे, छैरोतन्, लार्के, ल्होपा, ल्होमी सिंसावा, मार्फाली, मुगाली, सियार, थकाली, ताङ्वे, थुदाम, तीन गाउँले, तोप्केगोला आदि जाति हिमाली क्षेत्रका बासिन्दा हुन् । ‘हिमाली सबै आदिवासीहरूको मातृभाषा मुख्य स्रोत तिब्बती भोटबर्मेली परिवारबाट आएको हो ।
तर, हाम्रो एक अर्काको भाषाचाहिँ एकदमै फरक छ त्यही भएर पनि हाम्रो एउटा छुट्टै जाति पहिचान हुन गएको छ,’ महासंघकी उपाध्यक्ष ल्होमीले थपिन्, ‘हाम्रो भेषभूषामा पनि बख्खुदेखि गरगहनामा फरक छ ।
संस्कृतिहरू पनि फरक छन् । विवाह, मृत्युसंस्कार तथा न्वारानमा गरिने संस्कारहरू पनि १८ आदिवासीमा फरक छ ।’ ल्होमी सिंसवाहरू संखुवासभा जिल्लाको हिमाली उच्च भूभागमा बसोबास गर्ने जाति भएको जानकारी दिँदै ल्होमीले आफ्नो जातिको गौरुङ ङोरिम्बा भन्ने परम्परागत प्रथाजन्य संस्था कायम रहेको दाबी गरिन् ।
उनका अनुसार ल्होमी बहुल क्षेत्रमा वर्षमा एक पटक गौरुङ ङोरिम्बा छान्ने गरिन्छ । यो प्रथाजनित संस्था हो । यस संस्थाले सूचना तथा सामाजिक सुव्यवस्थाको काम गर्ने उनको भनाइ छ ।
‘हामी भोटे हौँ’
हिमाली आदिवासीहरूमा भोटे जाति पनि सूचीकृत रहेको छ । तर, आफ्नो नागरिकतामा गुरुङ तथा कसैकसैको लामा लेखिएकोले भ्रममा परेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गम्भीरसिंह गुरुङको भनाइ छ ।
‘भाषा फरक, रीतिरिवाज, संस्कृति तथा ऐतिहासिकताका आधारमा मात्र आदिवासीको सूचीककरण हुन्छ । हिमाली भेगमा बसोबास गर्ने भोटे पनि सूचीकृत भएकाले ५९ आदिवासीमध्येका एक हौ,’ अध्यक्ष गुरुङले भने, ‘हामी गुरुङ लामा, कार्की जे लेखे पनि शुद्ध भोटे नै हो । नागरितामा हामीलाई गुरुङ लेखिदिएको मात्र हो । तर हामी भोटे हौँ।’
उनले नागरिकतामा भोटे जाति लेखिदिन पनि सरकारलाई आग्रह गरे । नेपाल आदिवासी जनजाति महासंघमार्फत् यो विषयमा पटक–पटक सरकारलाई आग्रह गरेको भए पनि प्रक्रिया अगाडि नबढेको उनको दाबी छ ।पशुपालन र व्यापार गर्ने मूल पेसा अपनाएका भोटेहरूको बसोबास अछाम, डोटीलगायतमा रहेको छ ।
भोटेहरूले बोकटी, कुँवर, कार्की जात लेखेर नागरिकता पाएका छन् । कुनै कालक्रममा भोटे शब्द अपमानित ठानेको भए पनि अहिले आदिवासीमा सूचीकृत भएपछि गौरवको अनूभूति गर्ने गरेको भोटे अगुवाहरूको कथन छ ।
फरक आध्यात्मिक परम्परा
हिमाली आदिवासीहरूमा सियार समुदाय अर्को जाति हो ।गोरखा जिल्लाको चुम उपत्यका उनीहरूको परम्परागत थातथलो हो । चुम उपत्यकालाई नै सियार समुदायको उद्गम थलो मानिन्छ ।
सियार समुदाय चीनको तिब्बतको सिमानामा बसोबास गर्ने जातिका रूपमा पनि चिन्न सकिन्छ । गोरखा जिल्लाबाट ५० किलोमिटर टाढा पर्ने चुम उपत्यका अति दुर्गम क्षेत्रमा पर्छ ।
‘सियार जाति सबैजना बौद्धमार्गी हुन् । यहा“को आफ्नै परम्परा पनि रहेको छ,’ सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भने, ‘हाम्रो परम्परा र संस्कृति विशेष खालको छ । पानी नपरेको अवस्थामा प्रकृतिको पूजा गरेर पानी पार्ने प्रचलन छ ।
कुनै बेला पानी धेरै परेको खण्डमा पुजा गरेर मौसम सफा गर्ने तान्त्रिक विधि गाउँघरमा अझै कायमै छ । कोरोना महामारी समयमा पनि हाम्रो गुम्बामा शान्ति पूजा र प्रकृतिक पूजाहरू गरिएको थियो । पूर्वी जिल्ला ताप्लेजुङको उत्तरी भेगमा बसोबास गर्ने वालुङहरू पनि हिमाली आदिवासीहरूमा फरक पहिचान कायम भएको छ ।
‘भौगोलिक दृष्टिकोणले पनि वालुङ आदिवासी जनजातिहरू पृथक तरिकाले बसोबास गरिरहेका छौँ,’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले भने, ‘जस्तै हाम्रो वालुङ बस्तीमा पनि हामी वालुङबाहेक अरू समुदायको उपस्थिति न्यून छ । हामी कोही नया“ मान्छे आएको खण्डमा उसलाई फरक तरिकाले स्वगत गर्ने गर्छौं ।’
हिमालय पर्वत शृंखलासँगै जीविका चलाइरहेका हिमाली आदिवासी जनजाति नेपालको उत्तरी सीमाको रखवारी गर्दै त्यहाँको प्राकृतिक सम्पदा, विशिष्ट ज्ञान प्रणालीलाई बचाएका छन् । उनीहरूको फरक प्रथा, परम्परा र प्रथाजन्य मान्यताका आधारमा जीविकालाई सहज बनाएका छन् ।
यी जातिहरूको राज्यमा समावेशीकरण तथा उनीहरूको साँस्कृतिक संरक्षणको पाटोमा भने कम ध्यान दिने गरेको गुनासो छ । आदिवासी भनेर मात्र हुँदैन सीमान्त भूमिमा बस्ने सिमान्तीकरणको चपेटामा बस्ने आदिवासीहरूमा राज्यको उपस्थिति न्यून भएर नै राज्यको सेवाबाट वञ्चित बनेका छन् ।
(इण्डिजिनियस फिचर सेवा)