काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
कामना बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंकसँग समझदारी पत्रमा हस्ताक्षर गरी शुक्रबार सम्पन्न भएको हाे ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।
ग्लोबल बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यसैगरी, कामना सेवा विकास बैंकले देशभर रहेका आफ्ना १३२ वटा शाखा, १ विस्तारित काउन्टर, ४ वटा शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत सेवा प्रवाह गर्दै आएको छ ।