काठमाडाै - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
गोदावरी नगरपालिकाको छैटाैँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताएकी हुन् ।
सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताएकी छन् ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराइन् । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरेका छन् ।
उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरेकी हुन् । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताएका छन् ।