काठमाडौं– २०७४ सालको स्थानीय तह निर्वाचनमा मुलुकको अधिकांश स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । काठमाडौं, विराटनगर, पोखरा र भरतपुर महानगरपालिकालगायतमा दुई पार्टीबीच चुनावी तालमेल भएको थियो । तर, निर्वाचन परिणाम सुखद् बन्न सकेन । अधिकांश स्थानमा दुई पार्टीका साझा उम्मेदवार पराजित भए । त्यसमध्ये भरतपुर महानगरपालिका चर्चाको केन्द्रमा रह्यो । कारण एकातर्फ भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु उम्मेदवार थिइन् भने अर्कोतर्फ मतगणनाको क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एउटा वडामा पुनः निर्वाचन गरिएको थियो ।
भरतपुरमा कांग्रेसको पकड थियो ।
त्यसैले, माओवादी केन्द्रका उम्मेदवारलाई मत हाल्ने कुरामा कांग्रेस कार्यकर्ता सहमत भएनन् । जसको परिणाम नेकपा एमालेका देवी ज्ञवालीले निर्वाचन जित्ने स्थिति बनिसकेको थियो । त्यही कारण माओवादी केन्द्रका कार्यकर्ताले मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातेका थिए । पुनः मतदान गराउँदा रेणु झिनो मतान्तरले विजयी भइन् । स्थानीय तहको निर्वाचन परिणाम सुखद् नभएपछि कांग्रेस र माओवादीको सहकार्य टुट्यो । त्यसको छ महिनापछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने माओवादी केन्द्रले एमालेसँग तालमेल गर्यो । दुई पार्टीले एकता गर्ने घोषणासहित मोर्चाबन्दी गर्दा करिब दुईतिहाइ नजिकको मत पाए । त्यसपछि दुई पार्टीबीच एकता पनि भयो । तर, उक्त एकतालाई पछि सर्वोच्च अदालतले पूर्वावस्थामै फर्काइदियो ।
फेरि अर्को संयोग स्थानीय तहको निर्वाचन हुने बेलामा माओवादी र कांग्रेससहितको चार दलीय गठबन्धनले सरकार चलाइरहेको छ । ३० वैशाख ०७९ मा स्थानीय तहको निर्वाचन हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच मोर्चाबन्दी हुने विषयमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी (जसपा) चुनावी तालमेलको विषयमा मौन छ । यद्यपि, गठबन्धन कायम रहने बताइरहेको छ । जसपाको मुख्य जित्ने क्षेत्र मधेस प्रदेशसहित तराईका जिल्लाहरू हुन् । उक्त स्थानमा तालमेल गर्दा र नगर्दा परिणाममा खास असर नपर्ने बुझेकाले पनि जसपा मौन बसेको बताइन्छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचनमा तालमेल गर्नुपर्ने कुरामा विशेष जोड दिइरहेका छन् ।
चुनावी गठबन्धनको विषयमा कांग्रेसभित्र भने दुई धार देखिएका छन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उक्त दलका प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत गठबन्धनको पक्षमा देखिएका छन् । सभापति देउवाले गठबन्धनको विपक्षमा नबोल्न, गठबन्धनमा सहभागी अन्य दलका नेताहरूको चित्त नदुखाउन अन्तरपार्टी निर्देशन नै दिइसकेका छन् । तर, कांग्रेसमा संस्थानइतर पक्षका नेताहरू भने एक्लाएक्लै निर्वाचन लड्नुपर्ने पक्षमा देखिएका छन् ।
आगामी तीनवटै तह अर्थात् स्थानीय, प्रदेश र संघको निर्वाचनमा तालमेल हुने चर्चा चलिरहँदा गठबन्धन दलमा सहभागी पार्टीका नेताहरूबीचमा भने अविश्वासको वातावरण बन्दै गएको देखिन्छ । नेताहरूले व्यक्त गरिरहेका अभिव्यक्तिले पनि त्यही संकेत गरेको छ । चितवनका कांग्रेस सभापति जितनारायण श्रेष्ठले चुनावी तालमेलको विरोध गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर पत्रकार सम्मेलन गर्दै केन्द्रमा गठबन्धन गर्ने बताएपछि उनले केन्द्रले गठबन्धन गरेमा नमान्ने चेतावनी दिएका थिए । उनले तत्कालीन कांग्रेस महामन्त्री डा. शशांक कोइरालाई साक्षी राखेर भनेका थिए, ‘महामन्त्रीजीलाई साक्षी राखेर म उद्घोष गर्न चाहन्छु, यसपटक चितवनका कांग्रेसले रूख चिह्नबाहेक अन्त भोट हाल्ने छैनन् ।’
त्यस्तै कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई कांग्रेसले निर्वाचनमा तालमेल नगर्ने प्रस्ट पारेका थिए । दाहालनिवास खुमलटार पुगेर उनले भनेका थिए, ‘कांग्रेस आगामी निर्वाचनमा तालमेल गर्ने पक्षमा छैन, माओवादीले कांग्रेसलाई र कांग्रेसले पनि माओवादीलाई भोट हाल्दैनन्, त्यसैले निर्वाचनमा तालमेल हुने कुनै सम्भावना छैन ।’
विशेषगरी कांग्रेसभित्र आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने मत बलियो देखिन्छ । सशस्त्र द्वन्द्वका बेला माओवादी कार्यकर्ताले सबैभन्दा बढी कांग्रेसका कार्यकर्तालाई दुःख दिएको बुझाइ मतदाताको रहेको छ । त्यस्तै कांग्रेस र माओवादीको विचारधारा नै फरक रहेको चर्चा हुने गरेको छ । कांग्रेसभित्र माओवादीलाई विश्वास गर्न नसकिने विषयमा सघन छलफल भइरहेको कांग्रेसका एक नेताले बताए । यद्यपि, सभापति देउवालाई माओवादी र एकीकृत समाजवादीलाई आफूदेखि टाढा जान दिँदा एमालेसँग नजिक हुने डर छ । यदि फेरि वाममोर्चा बन्यो भने कांग्रेस अझै खुम्चने डर देउवामा देखिन्छ । त्यसैले गठबन्धन कायम राखेर निर्वाचनमा जाँदा संयुक्त सरकारको नेतृत्व गर्न पाइने देउवाको लोभका कारण हालसम्म गठबन्धनको विषयमा ठोस निर्णय हुन नसकेको बताइन्छ ।
घातको डर दुवैतर्फ
कांग्रेसलाई मात्र होइन, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूलाई पनि मोर्चाबन्दी गर्दा घात हुने डर छ । कांग्रेसका मतदाताले मत नदिने मात्र होइन, कांग्रेस नरूचाउने आफ्नै कार्यकर्ताले पनि घात गर्ने डर दुवै दलभित्र छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त गठबन्धनमा आबद्ध कांग्रेसका एकथरी नेताहरूको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको आरोप लगाएका छन् । पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको बताए ।
खनालले निर्वाचनमा कांग्रेसहरू बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरूले सबै ठाउँमा जित्ने दाबी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए । उनले एमालेले पनि पैसाको बोरा लिएर जाने बताए । खनालले भने, ‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यही हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ ।
जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने,सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं, अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्नेभन्दा इलाम–१ बाट । केपी ओली ६ गते जाँदै छन् ।’
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनमा सहभागी दलहरूबीच विश्वासको वातावरण अझै धुमिलिँदै गइरहेको देखिन्छ । ०७४ सालको स्थानीय तहको निर्वाचन परिणामका कारण पनि दुवैपक्षका नेता तथा कार्यकर्ताहरू तालमेल गर्ने कुरामा ढुक्क हुन सकेका छैनन् ।