एजेन्सी -रुस र युक्रेन बीच युद्ध शुरु भएको २० औं दिनमा पाँचाै चरणको शान्ति वार्ता शुरु भएको छ ।
युक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच पुनः शान्ति वार्ता सुरू भएको स्थानीय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।
युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिङ्कमार्फत् छलफल सुरु गरेका हुन् ।
रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभ सहित कयौं शहरहरु क्षतिग्रस्त भएका छन् ।
राजधानी किभ खतरनाक अवस्थामा रहेको भन्दै त्यहाँका मेयरले ३५ घण्टाका लागि कर्फ्युको घोषणा गरेका छन् ।
किभमा सुरक्षा खतरा हुँदाहुँदै पनि तीन युरोपेली देशका प्रधानमन्त्रीले जोखिम मोलेर रेल मार्ग हुँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग राजधानी किभमा भेटवार्ता गरेका छन् ।
पोल्याण्ड, स्लोभेनिया र चेक रिपब्लिकका प्रधानमन्त्री हिजै किभ पुगेका हुन् । हवाई मार्गबाट यात्रा गर्दा रुसी सेनाको निसानामा पर्न सक्ने भन्दै तीन जना प्रधानमन्त्रीले रेलमार्गबाट जाने निर्णय गरेका हुन् ।
युद्धले पीडामा रहेका युक्रेनी र त्यहाँका राष्ट्रपतिलाई नैतिक रुपमा समर्थन र साथ दिन तीन युरोपेली देशका प्रधानमन्त्रीले जोखिमपूर्ण यात्रा गरेका छन् ।