काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनमा थप सुदृढ एवम् सबल बनाउन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनमा ल्याइएको बताएका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले स्थापना कालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको बस्तुनिष्ठ मूल्याङ्कन गरी त्यसको सम्बोधनका लागि सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले मुलुकको समग्र राष्ट्रियहित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन एवम् नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्ने दायित्व सुरक्षा परिषद्को रहेको बताएका छन् ।
सुरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील विषयमा परिषद्ले आफ्नो जिम्मेवारी निष्ठापूर्वक सम्पादन गरेकोमा प्रधानमन्त्री देउवाले प्रसन्नता व्यक्त गरेका छन् ।
त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा चुनौती जस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।