भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुटवल–११ क्रिकेट क्लबले ५६ रनले जीत निकेलेकाे छ।
भैरहवामा रुपन्देही क्रिकेट संघले आयोजना गरेको जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गरेकाे हाे ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल बनाएकाे थियाे ।
बुटवल–११का लागि विवेश खातीले ४३, विवेक शर्माले २७ तथा इशान पाण्डे र अविषेक ठाकुरले समान २६–२६ रनको योगदान दिएका हुन् । बलिङमा तिलोत्तमाका अमरसिंह रौतेल र कृष्ण पराजुलीले समान ३–३ तथा कृष्ण कार्कीले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको तिलोत्तमा ३७ ओभरमा सबै विकेटको नोक्सानीमा १०० रनमै समेटिएकाे छ । उसका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाएका हुन् ।
तिलोत्तमालाई सस्तैमा रोक्न बलिङमा बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र इशान पाण्डेले २ विकेट लिए । सुुभम घमाल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
संघका अनुसार चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।