काठमाडौं– सरकारले देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन टिसिभी) दिने भएको छ । यही २५ चैतदेखि १८ वैशाखसम्म देशभरका बालबालिकालाई भ्याक्सिन दिने लागिएको हो ।
नेपालमा टाइफाइडविरुद्धको खोप अभियानको रूपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप लगाउने गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राल १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएकोे जानकारी दिइन् ।
यस खोपलाई सरकारले नियमित खोप अन्तर्गत राख्ने योजना बनाएको छ । यो सहित नेपालमा नियमित खोप १३ वटा पुगेको छ । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।
‘नेपालमा टाइफाइडको उच्च जोखिम मुलकमा पर्छ । टाइफाइडका संक्रमणका बिरामी प्रशस्त देखिएका छन्,’ उनले भनिन्,’ खोप लगाउँदा जटिलता तथा मृत्यु कमलाई गर्छ ।’
खोप अभियानका लागि प्रदेश वा स्थानीय तहमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने मिश्राले बताइन् ।
मुख्यतः टाइफाइड दूषित पानीको कारणले हुन्छ । सरकारले स्कुल पढ्ने उमेर समूहकालाई बढी जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकाले टाइफाइडविरुद्धको खोप दिन लागेको हो । सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।