काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ औं वार्षिकोत्सवमा ईकेवाईसी सुरुवात गरेकाे छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई ईकेवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा संचालनमा ल्याएको हाे ।
यो सेवा उपयोग गर्न, बैंकको बेवसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी. विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने बताइएकाे छ ।
केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसीअध्यावद्यिकको निवेदन दिन सक्नु हुनेछ ।
बैंकका अनुसार डिजिटल बैंकिङलाई सधै प्राथमिकतामा राख्दै ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।
साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068मा फोन गरी तथा
[email protected] ईमेल गरी प्राप्त गर्न सकिने बताइएकाे छ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएकाे छ ।