काठमाडौं - फुटवल क्लब एफसी चितवनले आगामी आइतवार विहान साढे एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प ; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दै छ ।
अप्रील ८ तारिकबाट सुरू हुन लागिरहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटवल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिने पाउने बताइएकाे छ । छनाैटमा खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ ।
यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउने बताइएकाे छ ।
एफसी चितवन
एफसी चितवन आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिको एक फुटबल क्लब हो ।
खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको एफसी चितवनले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र शुरू भएकाे एफसी चितवनले बताएकाे छ । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।