काठमाडौं -नेपाल र नेपालीको हितका राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आज आयोजना गरेको एक कार्यक्रममा नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताएका हुन् ।
उनले राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पारेका छन् ।“राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,” उनले भने।
मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे फैलाइएको नकारात्मक भ्रम चिर्न पार्टीका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।
‘घर–घर जाउँ, कांग्रेस जिताऊँ’ अभियानलाई व्यापक बनाउनुपर्ने तथा पार्टीलाई सबै स्थानमा विजयी गराउन नेतृत्व पङ्क्तिका साथै तल्लो तहका कार्यकर्ता पनि उत्साहका साथ लाग्नुपर्ने नेता सिंहले बताए ।