काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। आइतबार काठमाडौंकाे होटल रेडिसनमा प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
मिति २०७४/०८/२८ देखि बिमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु इन्स्योरेन्सले जनाएकाे छ। इन्स्योरेन्सका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेकाे बताइएकाे छ ।
चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।
साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ ।