काठमाडौं- सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा खिल बहादुर गुरुङकाे निर्देशनमा बनेको चलचित्र राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मससँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ। चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।चलचित्र २०७९ साल वैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र टिमले जनाएकाे छ।
हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको दाबी छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम्पसम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।
कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले छायाँकनको क्रममा भएको रमाइलो अनुभव शेयर गरे। आफुले काम गरेको पछिल्लो चलचित्रहरु मध्येमा मन्त्र आफुलाई एकदम मन परेको चलचित्र रहेकाे उनले बताए ।
चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।
खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्रमार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।
राजेश जंगको सहनिर्देशन रहेको चलचित्रमा सहनिर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन्। चलचित्रको काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन्।
चलचित्रमा सौगात मल्ल,बुद्दि तामाङ,दिया पुन, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको मुख्य भूमिका रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।