काठमाडौं - नेपालमा पछिल्लाे २४ घण्टामा ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार चार हजार ७५२ जनामा कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १३५ जना रहेका छन् । पछिल्लो समय १४७ जना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ । नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा तीन हजार ७९, संस्थागत आइसोलेसनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचारत भएकाे मन्त्रालयले जनाएकाे छ । विगत २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे मन्त्रालयकाे सार्वजनिक वुलेटिनमा उल्लेख छ ।