काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएई विरुद्धको खेलमा खराब ब्याटिङ गरेपछि नेपाल ९९ रनले पराजित भएको छ । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन नसक्दा पराजित भएको हाे ।
२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । यूएईविरुद्ध बनाएको १०३रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।
यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरि पनि राम्रो हुन नहुदाँ पावर प्लेमा ४ विकेट गुमाएको थियो । पावर प्लेमा युएईका जुनैद सिद्दकी र कासिफ दाउदले २-२ विकेट लिएका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए ।
पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा आउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।
त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे ।आरिफ २१औँ ओभरमा १५ रन बनाएर बउट भए । आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन ।
ज्ञानेन्द्र मल्ल पनि २५औँ ओभरमा आउट भएपछि नेपालले ६९ रनमा छैटौँ विकेट गुमायो । ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । विनोद भण्डारी १२ रन बनाएर आउट भए भने करण केसी ४ रनमा आउट भएका हुन् ।