काठमाडौं - नबिल बैंकले बसन्ती प्रेरणादायी पात्र अभियानमा सचेतनामूलक भिडियो तयार गरेको छ । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको हाे ।
बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गरेका थिए।
एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।
बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यस अभियानमार्फत मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य बैंकले राखेको छ ।
एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास बैंकले गर्ने जनाएकाे छ। यसै सिलसिलामा चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना बैंकले गर्ने बताएकाे छ ।
बैंकका अनुसार वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकारसहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।
प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत/वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह/सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो ।
एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास बैंकले गरेको छ ।
यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल गरेकाे छ ।