[caption id="attachment_23536" align="alignleft" width="300"]
भीम राई[/caption]
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विकले सदरमुकामको होटल शुभदिनमा अपमानित हुनुपर्यो ।
नगरपालिका प्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र नगरकै वडा नम्बर ८ का वडाध्यक्ष लिला चौहानले उनलाई हातपातसमेत गरेको समाचार कान्तिपुर दैनिकमा आयो ।
नगरपालिकाले कार्यकालको अन्तिम बैठकका रूपमा बोलाएको समीक्षा बैठक सकिन लाग्दा उनलाई राईले बाहिर लगेर हातपात गरेका थिए । त्यो पनि नगरप्रमुख, उपप्रमुख रहेकै ठाउ“मा उनलाई अभद्र व्यवहार गरियो ।
घटनापछि आफूलाई अन्याय परेको भन्दै विक जाहेरी बनाएर जिल्ला प्रहरी कार्यालय पुगे । तर, त्यो दिन प्रहरी प्रमुख बाहिर भएकाले उजुरी दर्ता नहुने भन्दै भोलि आउनु भन्ने सल्लाह दिइयो । त्यसको भोलिपल्ट पीडित उजुरी लिएर पुग्दा अगाडि नै पीडकहरूले छेकारो मारेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइसकेको भनियो । यसपछि ‘दुवैतिरबाट उजुरी आएको छ । कि दुवै दर्ता हुन्छ कि बसेर आपसमा मिलाउनू’ भन्ने प्रहरी प्रमुखले सुझाए ।
यसपछि यो मुद्दाको कुरा नै ढिसमिस गर्न राजनीतिक दलका नेताहरू लागे । एकातिर नगरप्रमुखकै अगाडि भएको घटनाले सबैलाई अप्ठ्यारो पारेको थियो । जोगिन गरेको प्रयासस्वरूप रातारात यो योजना बुनियो । यो फागुन महिनाको ५ गतेको घटना थियो ।
यस्तै नगरपालिकाकै वडा नं १२ जालपामा काठको ठेका, कठुवा जस्ता घरेलु सामग्री निर्माण गर्ने चन्द्रबहादुर विकले फागुन २८ गते दाँत फुट्नेसम्म कुटाइ खाए । उनी दिनभर सामग्री बनाउने ठाउँ (भाँडी)मा बसेर बेलुकी घर फिर्दै थिए । उनले गाउँभन्दा तल नगरपालिकाकै वडा नं ११ खार्मी र जालपाको सिमानामा पर्ने लुम्जु खोलामा थापेका छन् । उन बेलुकी घर फर्कंदा कादेल हुँदै निस्कनुपर्छ । उनी फर्किने क्रममा बाटोमा हिराधन राईको घरमा केही युवाहरू छलफलमा थिए ।
खासगरी नेकपा माओवादी केन्द्रनिकट युवाहरूको भेला थियो । त्यही भेलामा विपक्षी पार्टी एमालेका केही युवाहरू मादकपदार्थ सेवन गरेर होहल्ला गरिरहेको थिए । एक गाउँका युवाहरू साइनोले पनि भतिजहरू नै भएकाले ५२ वर्षीय चन्द्र विकले गाउँकै भाइहरू भनेर सम्झाउन खोजे । उनले ‘यसो नगरे हुने एउटै गाउ“ठाउ“को मान्छे’ मात्र भन्दै थिए । उनलाई एक्कासी ‘यो कामी दमाईले टेर्न छाडे’ भन्दै स्थानीय चमार भन्ने पूर्णबहादुर राईलगायतका युवाहरूले कुटपिट गरे ।
उनी राति नै ज्यान जोगाउन भागेर गाउँकै एक घरमा लुकेर बसे । चन्द्रको अगाडिपट्टिका दुईवटा दाँत फुटे । राति निकै सारो दुखेपछि घरमा फोन गरेर भाइभतिजहरूलाई लिन आउनु भने । उनलाई राति नै जालपा सामुदायिक अस्पतालमा पुर्याइयो । अस्पतालले दाँतको उपचार सम्भव नभएकाले थप उपचारका लागि काठमाडौंको टिचिङ हस्पिटल लैजान रिफर ग¥यो । उनी उपचारको क्रममा छन् ।
यसको लगतै ३० गते उनका भतिज ओमराज जिल्ला प्रहरीमा अभद्र व्यवहारको जाहेरी लिएर पुगे । त्यसमा पनि प्रहरीले अर्काे पक्षले निवेदन दिइसकेको भन्दै उजुरी लिन मानेन । यसमा पनि राजनीतिक दलका नेताहरूले लाम लागेर गए । चन्द्र विकको पक्षमा बोलिदिनेसम्म मान्छेको अभाव रह्यो ।
यसभन्दा अगाडि यसै नगरको लफ्याङ र विजयखर्कमासमेत यस्तै घटना भएका थिए । दलित समुदायका व्यक्तिहरू विनाकारण कुटाइ खानुपर्ने र हेपिनुपर्ने जस्तो देखिएको छ । सामाजिक हिसाबले होस् या राजनीतिक कारणले, दलित समुदायका पीडितहरूलाई राहत हैन थप पीडा दिने काम भइरहेको छ । खासगरी केही राजनीतिक आडम्बर र आदर्शमा रहेका व्यक्तिहरूले व्यावहारिक रूपमा छेकारो काटेर आफ्ना मान्छे जोगाउन कोसिस गरिरहेका छन् ।
रातारात बनीबनाउ मुद्दाहरू तयार पार्ने काम भइरहेका छन् । प्रहरी प्रशासनलाई गुमराहमा राखेर आफ्ना समर्थक तथा शुभचिन्तकलाई जोगाउन सामाजिक अपराधका कामहरू भइरहेका छन् । उनीहरूको उजुरी आउने स्थान प्रहरी प्रशासनमा हो । प्रहरी प्रशासनले समेत यसमा उदारता देखाएको पाइँदैन । उजुरी पीडित या पीडक दुवैपक्षबाट आए पनि स्थलगत अनुसन्धानको अभाव छ ।
उजुरी दर्ता हुन सकेन, कानुनी बाटोमा जान सकेन भने एकआपसमा छलफल गर्ने वातावरण मिलाउन प्रहरीको दायित्व हो । समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न प्रहरीले छलफल गराएर पीडितलाई प्रोत्साहन र पीडकलाई निरुत्साहित गर्न पर्दैन र ?
यस्तै किसिमको वातावरण निर्माण हुँदै जाने हो भने अब झन् समय जटिल बन्दै छ । दलित समुदायको मुद्दामात्र होइन अन्य विषय पनि उत्तिकै भएर आउँदै छन् । राजनीतिक माहोलको सिजन सुरू भइसकेको छ ।
यस्तो सिजनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको कार्यशैली र सामाजिक जिम्मेवारी जे भए पनि कसैले वेद पढेर बसिरहने फुर्सद निकाल्ने छैनन् । यो बेला जिल्लाको शान्ति सुरक्षा र अमनचैनको कुरा के हुने होला सबैलाई अहिले चिन्ताको विषय बन्न पुगेको छ । सकेसम्म सबैले यतातिर ध्यान दिने हो कि ?