काठमाडाैं - एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड मेगा बैंक नेपाल लिमिटेडले जितेकाे छ ।
एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्डमा मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेको हो ।
सिंगापुरस्थित वल्र्ड बिजनेश आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको विभिन्न सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ मेगा बैंकलाई प्रदान गरिएको छ ।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध बैंकले गराएको थियो ।
यस वर्ष संघिय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको बैंकले जनाएकाे छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न “एक शाखा दुई छोरी” कार्यक्रम बैंकले ल्याएकाे छ ।
यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको बैंकाे दाबी छ ।
यो छात्रवृतिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको मेगा बैंककाे भनाइ छ ।
यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाउनुभएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ ।
नेपालबाट वुमन अवार्ड जित्ने मेगा बैंक र सिइओ खुञ्जेली मात्रै हुन्। सिइओ खुञ्जेलीले यसैवर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेको थियो । उनकै नेतृत्वमा प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न मेगा बैंक सफल भएको थियो ।
उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव रहेकाे छ ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताइन् । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने सिइओ खुञ्जेलीले बताइन् ।