२०७८ चैत्र ११ गते (शुक्रबार)
काठमाडाैं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ।
मौसम विभागका अनुसार देशका पहाडी भू-भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागमा रातीमा भने आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे मौसम महाशाखाकाे पूर्वानुमान बुलेटिनले जनाएकाे छ।
यस्तै शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे छ।
रातमा भने देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन \ चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेकाे छ ।