काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो संख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए ।
‘आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरू हुन्छ, मतदाता संख्याको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ,’ उनले भने, ‘विभिन्न जोखिम मध्यनजर गरेर मतदाताको संख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो ।
आयोगले करिब दुई करोड थान मतपत्र छाप्नुपर्ने आकलन गरेको छ ।’ मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रस“ग छलफल भइरहेको आयोगले जनाएको छ ।
आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलले पेस गरेका आ–आफ्नो जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति)को विवरण छानबिनको काम भइरहेको जनाएको छ ।
आयोगले राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई यही चैत ६ गतेसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि स“गठन संरचना पेस गर्न अनुरोध गरेको थियो । ‘जिल्लाबाट दलको स“गठन संरचनासहितको विवरण प्राप्त भएको छ, आयोगले अध्ययन गरिरहेको छ,’ सहप्रवक्ता अर्यालले भने ।