काठमाडौं - न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएको वषौँ पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो ।
शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ ।
यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।
काठमाडौंको मुख्य ब्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को चलचित्र हल नहुँदा रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गर्न सकिन्छ ।
वि.स २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।
२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । बिभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए ।
कालु गुरुङ,बिरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहिबार साँझ बिसेष शो आयोजना गरिएको थियो।