काठमाडौं– निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन योग्य मतदाताको अन्तिम नामावली टुंग्याएको छ । आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावलीसँगै मतदानस्थल र मतदान केन्द्रसमेत टुंगो लगाएको छ ।
आयोगका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । कूल मतदातामध्ये ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला रहेका छन् । यस्तै, अन्य यौनिक तथा अल्पसंख्यक समुदायका १८३ मतदाता कायम गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजार २२३ कायम भएको छ । यस्तै, सबैभन्दा कम मनाङमा छ हजार ४१६ मतदाता रहेका छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौं छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
यसपटक मतदाता नामावलीमा नाम समावेश भइ आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने नयाँ व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ । यसपटकको स्थानीय निर्वाचनमा अघिल्लो स्थानीय तहको चुनावमाभन्दा ३६ लाख ५९ हजार २९९ जना मतदाता थपिएका छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४४० मतदाता थिए ।
आयोगले स्थानीय तह निर्वाचनका लागि देशभर १० हजार ७५६ मतदानस्थल कायम गरेको छ । यसैगरी मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको आयोगले जानकारी दिएको छ ।
आयोगले आइतबार नै स्थानीय निर्वाचनमा खटिने ६७६ जना निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको थियो । यसैगरी आयोगले स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थाका लागि आवेदन आह्वान गरेको छ ।
निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आइतबारदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।