सर्लाही– भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही पुगेका हुन् ।
अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ–गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका छन् ।
उनलाई गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो ।
कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे ।
आयोजककोतर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो । मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह चलिरहेको छ ।
स्थल मार्गहुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् ।