काठमाडाैं - कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार २५४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।
योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार १४२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ९८ दशमलव सात प्रतिशत रहेकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्ला सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।