काठमाडौं - संगीतकार राजेन्द्र बजगाईंले अनाथ बालबालिकासँग आफ्ने जन्मदिन मनाएका छन् । पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुदै गर्दा अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका हुन् ।
काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि स्नेह बाल आश्रममा आश्रम सञ्चालन गर्दैै आएका छन् ।
संगीतकार बजगाईंले त्यहाँ रहेको १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री प्रदान गरेका छन् । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उनले जन्मदिन मनाएका हुन् ।
सो क्रममा संगीतकार राजेन्द्रले भने,‘बिगतमा जन्मदिन त धेरै पटक मनाईयो । तर आज आएर यी भाई बहिनीमाझ आफ्नो जन्मदिन मनाउन पाउँदा फरक अनुभव भएको छ । अबका दिनमा पनि यिनै भाई बहिनीहरुलाई सेवा गर्दै जन्म दिन मनाउने छु ।’ आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उनले सो क्रममा व्यक्त गरेका छन् ।
बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे ।
यसरी कलाकार तथा सँगीतकर्मी र शुभचिन्तकको सहयोगले आफुले १६ जना बालबालिकालाई पाल्न सफल हुँदै आएको पनि उनले बताए ।
संगीतकार राजेन्द्रको जन्मदिन मनाउन आश्रम पुगेका अर्का गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरुको स्कुल शुल्कको लागि भनेर ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।