काठमाडाैं - त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो ।
मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ र ३८ बल खेलेका हुन् ।
उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडेका छन् ।
बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १/१ विकेट हात पारेका छन् । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६ तथा विजय उन्नीले ३ रनको योगदान गरे ।
बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनास बोहराले समान १/१ विकेट झारे । अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।