नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको कैलाश सन्न्यास आश्रमको अधिवेशन उद्घाटन गर्दै उनले यहाँको धार्मिक क्षेत्रलाई जोडेर पर्यटकीय स्थल बनाउन सकिने बताए ।
प्रदेशको उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गजेन्द्र मोक्षधाम र यसबीचमा रहेका कैलाश सन्न्यास आश्रम, देवघाट, दाउन्नेदेवी, मौलाकालिका मन्दिर, मनकामना, गलेश्वर आश्रमलगायत हरेक धार्मिक तथा पर्यटकीय स्थल गण्डकी प्रदेशको सम्भावना रहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री पोखरेलले कैलाश सन्न्यास आश्रमको स्तरोन्नतीका लागि संघीय, प्रदेश र स्थानीय सरकारसमेतले काम गरिरहेको सन्दर्भमा अब बजेट बनाउँदा प्रदेशबाट रकम विनियोजन गर्ने आश्वासन दिए । सो आश्रममा १५औँ शताब्दीको पुरातात्विक वस्तु भेटिएकाले त्यसको संरक्षण गर्दै यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड थियो ।
संविधानसभा सदस्य कृष्ण पौडेलले ऐतिहासिक महत्व बोकेको यस धार्मिक स्थलको अक्षयकोषका लागि ५० हजार सहयोग गर्ने घोषणा गरे ।
कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले विसं २०७२ देखि पुरातत्व विभागबाट अनुगमन तथा उत्खनन गरी २०६७ मा शिखरशैलीको कलात्मक शिव मन्दिर निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको जानकारी दिए । उनले हाल मन्दिरको निर्माण ७५ प्रतिशत सम्पन्न भएको बताए । आश्रमको प्रगति प्रतिवेदन, गुरुयोजना प्रस्तुत गर्दै कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका सचिव नेत्र रिजालले पाँच विघाह क्षेत्रफलको गुरुयोजना बनाउने, स्नानघाट, किरियापुत्री भवन, अतिथि गृह, मन्दिर रङरोगनलगायतका काम गर्नुपर्ने बताए । उनले आश्रमभित्र ३५ फुट अग्लो शिव भगवानको मूर्ति बनाउन आवश्यक रहेको बताए ।
सेनकालीन इतिहाससँग जोडिएको गैँडाकोटस्थित आश्रमको संरक्षण, सम्वद्र्धन तथा प्रबद्र्धनका लागि पुरातत्व विभागले जीर्ण अवस्थामा रहेको मन्दिर परिसरमा उत्खनन गरेको छ । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरी यसै क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ ।
मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ । यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कुँदिएका कलात्मक ढुङ्गा रहेका छन् । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् । पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले यहाँ एक हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेको थियो । टुटुफुटेका पुराना ढुङ्गा हेरी नयाँ ढुङ्गा निर्माणकार्य जारी रहेको छ । रासस