काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो ।
मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए । यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो । मलेसियाका जुबैदी जुल्किङ्खलेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्नेछ ।
वरीयतामा कुशलको दुई स्थान सुधार
काठमाडौं – नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशल २९औं स्थानमा उक्लिए । कुशल पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा थिए । यस्तै, वरीयताको शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरीयतामा यथावत् छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् । वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् ।
यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे छन् । यस्तै, टी–२० को बलिङ वरीयतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरीयतामा सन्दीप ३७औं स्थानमा छन् । टी–२० वरीयतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१औं स्थानमा छन् ।
सबै खेल जितेर उपाधि हात पार्छौंः सन्दीप
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।
‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए ।